चैत्र ६ गते, २०८० - १५ः५९
Follow us:

‘कम्युनिष्ट र काँग्रेस भन्ने ब्राण्डबाट देश समृद्ध बन्न सक्दैन’

राम ढकाल

नेपालमा राजनीतिक हिसाबले स्थापित परम्परागत शक्ति भन्दा वैकल्पिक शक्तिको आवश्यकता छ भन्ने बहश अलि गर्मागर्मी ढंगले उठेको केही बर्षहरु मात्र बितेका छन् । टुट–फुट र विभाजनले सधैं अल्पमतमा रहँदै आएको कम्युनिष्टहरु पुर्व एमाले र पुर्व माओवादी एकता पछि बनेको नेकपा एकता बहुमतमा ईतिहासमा विपि पछिको बलियो सरकारको रुपमा उभिएको छ ।अस्थिर सरकारको व्यावहारले आजित बनेका नेपाली जनता एउटै पार्टीको बहुमतमा बनेको सरकारले स्थिरता हुन्छ र विकास निमार्ण,भ्रष्टाचार लगायतका विषयमा सकारात्मक पहल र कार्यान्वयनको जुन अपेक्षा गरेका थिए,त्यो आशा,अपेक्षा र भरोसाहरुका कुठाराघात हुँदै गएपछि । वैकल्पिक शक्तिको आवश्यकता मान्दा हैन अपरिहार्यता नै बनिसकेको कुरा सायद कमैको दुईमत होला।
स्थिर सरकार भएपछि केही न केही हुन्छ भने जनताको भरोशाहरु किन निराशामा परिणत भैरहेका छन् । आफुलाई जनताको असली प्रतिनीधि ठान्ने तर भने अनुसार मत प्राप्त गरेर पनि सत्तामा पुगेपछि जनताका आधारभूत् आवश्यकता पनि पुरा गर्न नसक्ने ?के कारणले यस्तो भैरहेको छ यसबारे केहि प्रष्ट हुन जरुरी छ ।


पहिलो कारण त नेपालमा राजनीतिक हेर्ने हो भने खासै लामो छैन । करिब सात दशकको ईतिहास बोकेका राजनीतिक दलहरु हेर्दा केहि पुर्व पञ्चहरु र क्षेत्रीय रुपमा स्थापित पार्टीहरु बाहेक राष्ट्रिय रुपमा स्थापित पार्टीहरु सबै युद्धका निम्ति,संघर्षका निम्ति र अधिकार प्राप्तीका निम्ति निर्माण भएका पार्टीहरु हुन् । त्यो नेपाली काँग्रेस होस् या झापा विद्रोहबाट माले हुदै बनेको पुर्व एमाले होस वि.सं २०५२ सालबाट एक दशक जनयुद्ध लडेको पुर्व माओवादी केन्द्र नै किन नहोस, सबै युद्ध र संघर्षको पृष्ठभूमिमा निर्माण भएका हुन् । त्यसैले फरक उद्देश्यको लागि निर्मार्ण भएको पार्टीले आफुलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्न आवश्यक थियो । उनीहरुले गर्न चाहेको देखिदैन र सक्दैनन् पनि । पार्टी भनेका साध्य हैन साधन हो । त्यसैले युद्ध र संघर्षको निम्ति निर्माण गरिएको साधन सम्बृद्धिको लागि पुर्ण हुन कदापी सक्दैन,त्यो साधन भनेको समृद्धिको उदेश्यको आधारमा तयार भएको वैकल्पिक शक्ति रुपी नया राजनीतिक शक्ति नै हो ।


दोश्रो कारण भनेको विगतमा निर्माण भएका पार्टीहरुले राजनीतिलाई सेवा भन्दा पनि पेशाको रुपमा स्थापित गरे,त्यो एउटा समयको लागि आवश्यक थियो । किनभने भुमिगत हुनुपर्ने,लडाई लड्नुपर्ने,निरन्तर संघर्ष गरिरहनु पर्दा होल टाईमर कार्यकर्ता आवश्यकता थियो त्यो बेला । तर त्यसैको भन्दा नक्कल स्वरुप वर्तमानमा पनि राजनीतिलाई कमाई खाने भाडो बनाई रहेका छन् । हामी देखीरहेका छौं की राजनीति भनेको जसरी पनि सत्तामा पुग्ने श्रोत साधन कब्जा गर्ने र सत्ता र शक्तिको दुरुपयोग गरी अकूत् सम्पत्ति कमाएर पुस्तान्तरण गर्ने जुन होडबाजी चलिरहेको छ । यस्तै मानसिकता,बुुझाईमा निमार्ण भएका पार्टी र संगठित कार्यकर्ता कुनै पनि मुल्यमा सम्बृद्धिको नेतृत्व गर्न सक्दैनन् र गर्दैनन् पनि । वैकल्पिक शक्ति आवश्कयता छ । जुन पार्टी राजनीति सेवा हो भन्ने बुझाईमा निर्माण भएको हुनुपर्छ ।


तेस्रो र अन्तिम कुरा भनेको राजनीति नेतृत्व पनि हो । सम्बृद्धिको कुरा सबै पार्टीले गरेकै छन्। सम्बृद्धि,विकास नगरौँ भन्ने नियत कुनै पार्टीको छ जस्तो लाग्दैन,समकालीन नेताहरु शेरबहादुर देउवा,केपि ओली,प्रचण्ड लगायत सबै नेताहरुमा विकास सम्बृद्धि गरौं भन्ने भावना पक्कै होलान् तर त्यो भावना,लिखित एजेन्डा भन्दा भएर पुग्दोरहेनछ भन्ने कुरा वर्तमानले पुष्टि गरिसकेको छ । घर घरमा ग्याँसको पाईप भन्ने बाँडिएको सपना घर घरमा बिजुली झरिसकेको छ । रेल र पानीजहाजको हावादारी कुरात नेपालको सम्बृद्धिको आधारभुत कुरा नै हैनन् भन्दा अत्युक्त नहोला । त्यसैले कुनै अमूक पार्टीमा लामो समय काम गरेको नेता,सम्बृद्धि र विकास गरौँ भन्ने भावना भएका ,चाहना भएका त्यसको बारेका उखान टुक्का सहित मिठास भाषण गर्ने जेल,नेल खाएर आएका नेतृत्व मात्र भएर नपुग्ने रहेछ भन्ने कुरा हामीले देखिसकेका छौँ ।

त्यसैले लक्ष्य सम्बन्धी त ज्ञान र त्यो लक्ष्य चुम्नको लागि आवश्यक स्पष्ट दृष्टिकोण भएको नेतृत्व नै हो । त्यो मलेसियाको सम्बृद्धिमा डा.महाथिरको भुमिका होस या लि क्वानको सिंगापुर विकासमानै किन नहोस् । मलेसियामा डा.महाथिर र सिंगापुरमा लि क्वानको नेपाली भूमिका निभाउन सक्ने नेपाली व्यक्तित्व भनेको राजनीति हिसाबले स्थापित, स्पष्ट दृष्टिकोण भएको र सम्बृद्धिको लागि आवश्यक ज्ञान र दक्षतामा समकालीन नेपाली नेताहरु भन्दा अब्बल भनेको नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नै हुन् । सम्बृद्धिको नेतृत्व गर्नको लागि त्यही बुझाई र मानसिकतामा सम्बृद्धि सुहाउँदो एजेन्डा लिएर आएको पार्टी नयाँ शक्ति पार्टी नै हो । यो नै देशको वैकल्पिक शक्ति हो भन्ने विगतका केही कमी कमजोरीका बाबजुद् पनि स्थापित हुँदै गएको छ भन्ने कुरा मैले लेखीरहँदा उपयुक्त नै ठानेको छु ।

नयाँ शक्ति नै देशको वैकल्पिक शक्ति बन्लाकी नबन्ला भन्ने बहस नेपालका राजनीतिक बजारमा आशंका गर्नेहरु अझै छन् नै । ती आशंकाहरु मेटाउन हामि जस्ता नयाँ शक्तिका अभियन्ताहरुलालई केहि समय लाग्छ नै साथै कडा मेहनतको अवश्य नै खाँचो छ । तर देशमा स्थापित पार्टीहरु कि काँग्रेस कि कम्युनिष्ट भन्ने ब्राण्ड वाट देश सम्बृद्ध बन्न सक्दैन । वैकल्पिक शक्तिको आवश्यकता मात्र हैन अपरिहार्यता नै छ भन्ने कुराको ज्ञान आम मानिसमा दिन दईुगुणा रात चारगुणा बृद्धि भने अवश्य नै भएको छ ।


लेखक राम ढकाल (ऋतिक) नयाँ शक्ति पार्टी धादिङका युवा नेता तथा केन्द्रीय परिषद सदस्य हुन् ।

प्रतिकृया लेख्नुहोस्: