जेष्ठ ११ गते, २०८३ - १४ः५०
Follow us:

आज महाशिवरात्रि,धादिङको सिद्धालेक,पशुपति र गुप्तेश्वरीमा ठुलो मेला लाग्दै

धादिङ २० फागुन।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रीको अवसरमा धादिङको नीलकण्ठ नगरपालिकामा रहेको पशुपति मन्दिर, नलाङको सिद्धालेक,कल्लेरीमा रहेको गुप्तेश्वर मन्दिरमा पूजा तथा आराधना गर्नेको भीड लागेको थियो ।धादिङ जिल्लाका विभिन्न शिवमन्दिरहरुमा मेला लागेको छ ।नलाङ स्थित सिद्धालेकमा पनि आज भव्य मेला सम्पन्न भएको छ ।
सिद्धलेक गाउँपालिकामा स्थित नलाङ र सलाङको बीचमा रहेको सिद्धालेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न हजारौं श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको थियो । त्यस्तै गल्छी गाउँपालिकाको कल्लेरीमा पर्ने नाङ्गो डाडाँमा अवस्थित गुप्तेश्वर महादेव मन्दिर नीलकण्ठ नगरपालिकामा अवस्थित पशुपति मन्दिरमा मा पनि भक्तजनहरुको भिड लाग्ने गर्छ ।


वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

फाईल फोटो


माघमा महादेवको रुद्रत्व अर्थात जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।तमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।


आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

प्रतिकृया लेख्नुहोस्: