बैशाख ३ गते, २०८३ - ०४ः४८
Follow us:

मैले भनेको कुरा प्रचण्डजीले लागू गरे म घर गएर नाँचेर बस्थेँः डा. भट्टराई


१२ फागुन , अछाम । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूले नेकपा अध्यक्ष प्रचण्डलाई राम्रोसँग चिनिसकेको बताएका छन् ।

जनसंवाद यात्राको २७ औं दिन अछामको पञ्चदेवल विनायक नगरपालिकामा आयोजित अन्तर्क्रियामा नागरिकले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् । ‘तपाईंका सहकर्मी प्रचण्डले दुई तिहाई बहुमत पाएका छन्, उनैले भ्रष्टाचारको अन्त्य र समृद्धि गरिहाल्लान्’ भन्ने सवालको जवाफ दिँदै भट्टराईले भने, ‘उहाँले यी काम गर्नुभयो भने म घरमा गएर ख्याल-ठट्टा गरेर, नाँचेर आराम गर्थेँ ।’

नेपालीले अझै प्रचण्डलाई चिनिनसकेको भन्दै उनले भने, ‘उहाँ मिठो बोल्नुहुन्छ । ठाउँअनुसारको कुरा गर्न सिपालु हुनुहुन्छ । रुने ठाउँमा रोइदिनुहुन्छ, हाँस्ने ठाउँमा हाँसिदिनुहुन्छ, नाँच्ने ठाउँमा नाँचिदिनु हुन्छ, त्यो उहाँको कला हो,’ उनले भने, ‘उहाँ राम्रो कलाकार चाहिँ हो । मैले त चिनिँसकेँ । अब तपाईंहरु जजसले चिन्न बाँकी हुनुहुन्छ, पर्खेर हेर्नुहोस् । तपाईंहरुलाई शुभकामना छ ।’

डा. भट्टराईले आफूले पार्टी फुटाएर नआएको स्पष्ट पार्दै पुराना पार्टीहरुप्रति थप टिप्पणी नगर्ने बताए । उनले भने, ‘रुपान्तरणबिनाका पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने त व्यवहारले नै पुष्टि हुँदै गइरहेको छ । पुरानैले गरे हामीले किन यति दुःख गर्नुपर्थ्यो र ?’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पुराना पार्टीहरु समानान्तर राज्यको रुपमा काम गरिरहेको बताए । ‘पुराना पार्टीहरु समानान्तर राज्यको रुपमा चलिरहेका छन्, राज्यबाट अवसरहरुको शोषण दोहन गर्न भरपूर दुरुपयोग भइरहेका छन्,’ उनले भने, ‘पुराना पार्टीहरुबाट केही हुन्छ भनेर प्रतिक्षा गर्नु समयको बर्बादी मात्रै हो ।’

नेपाल विश्वभन्दा २०० वर्षपछाडि परिसकेको उल्लेख गर्दै उनले संसारलाई भेट्टाउने घिस्रने होइन, वायुपंक्षी घोडाजस्तै तीव्र गतिमा उड्नुपर्ने धारणा राखे ।

प्रतिकृया लेख्नुहोस्: