धादिङ,०३ भदौ। धादिङमा भदौ ९ गते सम्म निषेधाज्ञा लम्बाईएको छ ।पहिलो पटक लागु गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिनु अघि नै संकट व्यावस्थापन समितिको बैठकले मंगलबार नै ९ गते सम्मको लागि लम्बाउने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षयतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले भदौ ९ गते सम्मको लागि निषेधाज्ञा गरेको हो । संकट व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि कालुपाण्डे मार्गको फुर्केखोला देखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा भदौ ९ गते सम्मको लागि निषेधाज्ञा जारी गरीएको हो ।
अत्यावश्यक बाहेकका सबै यातायात पूर्णरुपमा बन्द गराउने, त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्ला भित्रपर्ने क्षेत्रमा होटल,बैंक तथा वित्तिय संस्था र जिल्ला भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको धादिङ प्रशाशनले जनाएको छ ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(घ) र संक्रमक रोग ऐन २०२० बमोजिम भाद्र ९ गतेसम्म जिल्ला भित्रको बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको उल्लंघन गरेको पाईएमा कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।