कांग्रेस महासमिति सदस्यसहित दर्जनौं समाजवादी पार्टी प्रवेश
जेष्ठ १२ गते, २०७६ - ०३ः३१ मा प्रकाशित
विराटनगर ११ जेठ । नेपाली कांग्रेसका महासमितिसदस्य केशव कार्कीसहित दर्जनौं नेता कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । -शनिबार विराटनगरमा आयोजित समाजवादी पार्टी नेपालको प्रदेश नं. १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँहरुलाई पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले स्वागत गर्नुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा कांग्रेस महासमिति सदस्य खोटाङका कार्कीसहित कांग्रेसमा ४१ वर्षदेखि क्रियाशील मोरङका मोहम्मद साहब गुडु, नेकपा संखुवासभाका नेता सीताराम तिमिल्सिना, राप्रपा संखुवासभा अध्यक्ष टंकमान मोक्तानहरु लगायत रहनुभएको छ ।
नवप्रवेशीलाई अध्यक्षद्वयले टिका लगाउँदै स्वागत गर्नुभएको थियो । -अभिमुखीकरणमा अध्यक्षद्वय लगायतका पार्टी पदाधिकारीहरुले समुन्नत संघीय
समाजवाद नेपाली मौलिकताको सर्वोत्तम राजनीतिक व्यवस्था भएकोले त्यसलाई
व्यवहारमा रुपान्तरण गर्न समाजवादी पार्टी लागिपर्ने स्पष्ट पार्नुभयो ।
नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच भएको पार्टी एकीकरणको
सन्देश दिन आयोजित अभिमुखीकरणमा प्रदेश नं. १ का नेता तथा कार्यकर्ताको
भव्य उपस्थिति रहेको थियो ।