बैशाख ५ गते, २०८२ - २२ः५६
Follow us:

के धरानवासीको हर्ष बन्लान् त हर्क ?

सुनसरी, ९ जेठ । पालिका चुनावमा धरान उपमहानगरपालिकाको मेयरमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) विजयी भए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगरको मेयरमा भने धरानवासीले स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको मेयरमा विजयी  भएका हुन् ।

साम्पाङ उपमहानगरको मेयरमा विजयी भएपछि स्थानीयवासीले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार सात सय ६२ मतान्तरले पराजित गरेका हुन् । साम्पाङले २० हजार आठ सय २१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरे ।

यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार उपमहानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार आठ सय २५ मत मात्र प्राप्त गरिन् ।

सामाजिक अभियन्ताका रूपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उनले मेयरमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए । एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयवासीले यसपालि उनलाई लोकप्रिय मत दिएर जिताएका हुन् । यसअघि साम्पाङले २०७६ को उपचुनावमा पनि मेयरमा उम्मेदवारी दिँदा जम्मा चार सय ४२ मत प्राप्त गरेका थिए ।

को हुन हर्क साम्पाङ ?

हर्क साम्पाङ खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन् । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी २०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए। उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् ।

अध्ययनकै क्रममा उनले धरानमा रहेको एक शिक्षण संस्थामा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि विदेशिएका साम्पाङ अफगानिस्तान र इराकमा गरी ६ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उनि सामाजिक काममा लागे ।

अहिले उपमहानगरको मेयरमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए । तर चर्चा भने कम नै थियो । उनले धरानको धनकुटे मार्ग भएर जाने एक सय पाँच मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीयवासीको घरजग्गा जोगाउने अभियानबाट सुरुवात गरे । सडक विस्तारका नाममा स्थानीयवासीलाई सुकुम्वासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भइ काम सुरु भएर पानी वितरण  भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिम्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनि एक्लै सडकमा निस्किए । यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए ।

धरानको खानेपानी आयोजना, वीपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयवासीले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहे । ‘सतिसाल’ झैँ नागरिकका सानातिना समस्यामा उनि आवाज उठाइरहँदा आज अरूको साथ नपाए पनि धरानका स्थानीयवासीको पूर्ण साथ पाएका छन् ।

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयवासीमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनि बताउँछन् । ‘यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयवासीले मलाई विश्वास गर्नुभयो । उहाँहरूप्रति धेरै कृतज्ञ छु’, नवनिर्वाचित साम्पाङले भने।

विसं २०७४ को पालिका चुनावमा उनि केवल मतदाता भएर मैदानमा थिए । २०७६ को उपचुनावमा भने उनि तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ ।

उनि धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउछन् । ‘धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जित हुन्छ’, उनले भने ।

अभियन्ता साम्पाङ

धरानका स्थानीयवासीका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुन् । उनको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयवासीले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको जनसरोकार मञ्चले अभियान चलाइरहेको थियो । साम्पाङ पनि त्यसमा जोडिनु भइ त्यही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हाल्लेका थिए ।

एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याएका साम्पाङलाई स्थानीयवासीले यस पटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयवासीले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ ।

‘धरानका नागरिकले आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराउनुभयो, यो सुखद विषय हो’, मेहन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राहीले भने । महानगर उपमेयरमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गरेका छन् ।

धरानमा विसं २०७६ पछि एमाले पछि पर्‍यो

वामपन्थी गढका रूपमा चिनिएको धरान उपमहानगरमा नेकपा एमालेका लागि ठूलो प्रतिष्ठाको विषय थियो । विसं २०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको ‘लालकिल्ला’ का रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोडिँदै आएको छ ।

पालिकाको उपचुनावमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको लालकिल्ला भत्काए । नेकपा (माओवादी केन्द्र) र एमाले एक भएको बेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएर एमालेलाई पछाडि पारेका हुन् ।

ठूलो सङ्घर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरि गठबन्धनका घटक माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाका साथमा उम्मेदवारी दिए पनि एउटा समान्य नागरिक जो धरानका लागि सपना बोकेर एक्लै हिँडिरहेका थिए, हर्क साम्पाङले जित हासिल गरे ।

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा विसं २०१७ मा नगरपालिका घोषणा भएसँगै वामपन्थीले लगातार प्रमुखमा जित हासिल गर्दै आएको थियो ।

विसं २०४६ को जनआन्दोलनपछि तत्कालीन संवैधानिक राजतन्त्रको पालामा विसं २०४८ र २०५४ मा भएका चुनावमा समेत एमालेले विजयी हासिल गर्दै आएको थियो । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले प्रमुखमा जित हासिल गरेका थिए । विसं २०७४ को पालिका चुनावमा एमालेका तारा सुब्बाले उपमहानगरको नेतृत्व गरे ।

विसं २०७६ को उपचुनावमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदा तिलकले २६ हजार सात सय नौ मत प्राप्त गरे भने प्रकाश राईले २३ हजार नौ सय १४ मत पाएका थिए ।

धरानको कुल मतदाता एक लाख तीन सय २४ रहेकामा यस पटकको चुनावमा ६२ हजार जनाले मतदान गरे । यस पटक ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्: