धादिङ, ५ जेठ । धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको वडा नं ६ मा वडा अध्यक्षका प्रत्यासीहरुको मत बराबर भएपछि गोला प्रथामार्फत अध्यक्ष निर्वाचित गरिएको छ ।
गोला प्रथामा नेपाली काँग्रेसका उम्मेद्वार भुपेन्द्र श्रेष्ठ विजयी भएका छन् । विहीवार मतगणना गर्दा नेपाली काँग्रेसका भुपेन्द्र श्रेष्ठ र नेकपा माओवादी केन्द्रका लक्ष्मण रम्तेल दुवै जनाले बराबर ७ सय ५८ मत पाएका थिए ।
गत वैशाख २८ गते राती काँग्रेसका उम्मेद्वारमाथि आक्रमण गरेको आरोपमा माओवादी केन्द्रका उम्मेद्वार लक्ष्मण रम्तेललाई प्रहरी हिरासतमा राखिएको छ । सो घटनामा गम्भीर घाइते भएका काँग्रेसका उम्मेद्वार भुपेन्द्र श्रेष्ठ काठमाण्डौमा उपचाररत छन् ।
गोला झिक्नको लागि रम्तेललाइ प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको थियो भने भुपेन्द्रको तर्फबाट काँग्रेस जिल्ला सभापतिको रोहवरमा गोला थुतिएको थियो ।