प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु
जेष्ठ ४ गते, २०७९ - २०ः३८ मा प्रकाशित
काठमाडाैं, ४ धादिङ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।
अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबारको बैठकमा आगामी आवका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गरेका थिए । आव २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बिहीबार राष्ट्रियसभामा छलफल गर्ने कार्यतालिका छ ।
छलफलमा भाग लिँदै नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने आधार नदेखिएको, सार्वजनिक स्वास्थ्य तथा शिक्षाको सवलीकरणलाई बेवास्ता गरिएको बताए । व्यापार घाटा न्यूनीकरण गर्दै पूँजीगत खर्च वृद्धि गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो अवस्था आउन नदिन वैकल्पिक उपायको खोजी गरिनुपर्ने बताए।
‘पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने विषय विधेयकका सिद्धान्त र प्राथमिकतामा देखिएन’, उनले भने, ‘गैरआर्थिक कारोबार बढेको छ, यसले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको छ ।’ रासस