नेपाल जनस्वास्थ्य संघको उपाध्यक्षमा धादिङकी भट्ट निर्वाचित
पौष २७ गते, २०७८ - ०३ः५२ मा प्रकाशित
धादिङ, २६ पुस । जनस्वास्थ्यकर्मीहरुको साझा संस्था नेपाल जनस्वास्थ्य संघ (नेफा)को उपाध्यक्षमा धादिङकी विमला भट्ट निर्वाचित भएकी छन् ।
भट्ट सबै भन्दा बढी (७२७) मत ल्याएर निर्वाचित भएकी हुन् । नेफा इतिहासमा अहिलेसम्म महिलाहरुको उम्मेदवारी नै नपरेको पदमा निर्वाचित भई उनले इतिहास पनि रचेकी छन् ।
जनस्वास्थ्य विषयमामा स्नातक तथा स्नातकोत्तर गरेकी भट्ट यसभन्दा अगाडि पनि सबै भन्दा धेरै भोट ल्याएर कार्यसमिति सदस्यमा निर्वाचित भएकी थिइन् । स्वास्थ्यका विभिन्न क्षेत्रमा शोध-अनुसन्धान संगै विभिन्न संघ संस्थाहरुमा झण्डै एक दशक काम गरिसकेकी भट्ट हाल पोखरा विश्वविद्यालयको स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेसमा निर्देशकको रुपमा कार्यरत छिन् ।
धादिङ सांकाेषमा जन्मिएकी भट्ट सानैदेखि पढाईमा समेत तेज रहेकी थिईन् । २०५५ सालको एसएलसी परिक्षामा नीलकण्ठ मावीबाट सहभागी भएकी उनी जिल्ला प्रथम हुन सफल भएकी थिईन् ।
लोकप्रिय मतसहित उपाध्यक्ष निर्वाचित भए पछि उनले स्वास्थ्य क्षेत्रमा सुधार गर्न आफुले समन्वयकारी भूमिका खेल्ने बताएकी छन् । साथै निर्वाचित गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका खेल्ने सबैलाई धन्यवाद पनि दिएकी छन् ।