चैत्र ६ गते, २०८२ - १४ः२४
Follow us:

शिक्षा क्षेत्रमा नयाँ सन्देश दिँदै सत्यवती करियर कन्फरेन्स सम्पन्न (फोटोफिचर)

प्रतिभा पराजुली/आदमघाट, २३ पुस । भविष्यको बाटो पहिल्याउन नसकेर अन्यौलमा रहेका दुई सयभन्दा बढी उच्च माध्यमिक तहका विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै सत्यवती करियर कन्फरेन्स २०७८ सम्पन्न भएको छ ।

जिल्लाको सिद्धलेक-७ आदमटारमा रहेको सत्यवती उच्च माध्यमिक विद्यालयमा करियर कन्फरेन्सको आयोजना सत्यवती आल्मुनाई एसोसियसन अफ नेपाल (सान)ले गरेको हो । बुधबारबाट सुरु भएको करियर कन्फरेन्समा विभिन्न ११ विषयमा शैक्षिक परामर्श प्रदान गरिएको सानका अध्यक्ष बद्री सुवेदीले जानकारी दिए । कार्यक्रममा सत्यवती उच्च माध्यमिक विद्यालयसँगै आसपासका विभिन्न उच्च माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन बुधबार त्रिपुरासुन्दरी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर खतिवडाले निजामति सेवा, अनलाइनखबरका विचार सम्पादक तथा एकोराबका सचिव सम्पादक सुर्दशन खतिवडाले पत्रकारिता, युवा उद्यमी सरोज खनालले स्टार्टअप व्यवसाय, सानीमा बैंक नुवाकोट शाखाका प्रबन्धक मधुप्रकाश खतिवडाले बैंकिङ सेवाका विषयमा परामर्श दिएका थिए ।

यसैगरी, विहीवार विद्यालयका पूर्वविद्यार्थी तथा व्यवसायी श्यामचन्द्र खतिवडाले वैदेशिक रोगजारी, सान नेपालका अध्यक्ष बद्री सुवेदीले सेयर बजार, सिताराम अधिकारीले कोरियन रोजगारीका विषयमा परार्मश दिए भने राष्ट्रिय वाणिज्य बैंक गजुरीका प्रबन्धक अनिता श्रेष्ठले बैंकिङ साक्षरताबारे परामर्श प्रदान गरिन् । सान नेपालका कार्यसमिति सदस्य विमला सेढाईले बिमा शिक्षा, पूर्व विद्यार्थी किरण अधिकारीले वैदेशिक शिक्षाबारे परामर्श दिए भने बिके रमण भट्टराईले प्रेरणादायी प्रशिक्षण प्रदान गरे ।

परामर्शको क्रममा राष्ट्रिय वाणिज्य बैंककी शाखा प्रबन्धक श्रेष्ठले एकजना विद्यार्थीलाई बैंकमा इन्टर्नशीपको अवसर प्रदान गर्ने घोषणा गरिन् । सानका अध्यक्ष सुवेदीले प्राथमिक शेयरमा लगानी गर्ने पाँचजना विद्यार्थीलाई १०/१० कित्ता शेयर लगानी गर्ने घोषणा गरे ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण शर्माले आफ्नो करियरका बारेमा अन्यौलमा रहने विद्यार्थीहरूलाई भविष्यका बाटाहरूबारे परामर्श दिन कार्यक्रम आयोजना गरिएको बताए । ‘यो सम्भवतः हाम्रो जिल्लामा नयाँ प्रयोग हो । अधिकांश विद्यार्थीलाई आफ्नो करियरबारे अन्योल रहेकोले उनीहरुलाई कक्षा १२ उत्तीर्ण पश्चात अध्ययन, रोजगारी वा सेवा प्रवेशमा सहजता होस् भनेर यस्तो कार्यक्रम आयोजना गरेका हौं,’ प्रअ शर्माले भने, ‘सत्यवती माविमा हरेक वर्ष करियर कन्फरेन्स आयोजना गर्छौं ।’

प्रतिकृया लेख्नुहोस्: