काठमाडाैं, २२ पुस । मन्त्रीपरिषद् बैठकले नगर विकास कोषमा रिक्त रहेको ७ जना नयाँ बोर्ड सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को यो निर्णयसँगै नगर विकास कोषमा धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य नियुक्त भएका छन् । आचार्य बागमती प्रदेशबाट बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।
मन्त्रिपरिषद्ले प्रदेश १ बाट त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी र प्रदेश २ बाट क्षिरेश्वर नगरपालिकाका उपप्रमुख रचना श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै गण्डकी प्रदेशबाट गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, लुम्बिनी प्रदेशबाट रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषाल,कर्णाली प्रदेशबाट रास्कोट नगरपालिकाका उपप्रमुख मिमसरा बम र सुदुरपश्चिम प्रदेशबाट गोदावरी नगरपालिकाका उपप्रमुख रत्नाम कडायतलाई नियुक्त गरिएको छ ।
नगर विकास कोषमा अध्यक्षसहित जम्मा १६ जना सदस्य रहने व्यवस्था छ । कोषमा शहरी विकास मन्त्रालयका सचिवको अध्यक्षतामा नगरप्रमुख र उपप्रमुख गरी ७ जना र शहरी विकास मन्त्रालयबाट ३ जना सदस्य हुने व्यवस्था छ ।
कृष्ण सापकोटा कार्यकारी निर्देशक रहेको उक्त बोर्डले देशभरीका नगरपालिसँग सहकार्य गर्दै विभिन्न विकास योजनाहरुमामा ऋण सम्झौता गर्दछ ।