धादिङबाट माओवादी केन्द्रको केन्द्रीय निकायमा ७ जनाको प्रतिनिधित्व
पौष १९ गते, २०७८ - ०१ः५३ मा प्रकाशित
धादिङ, १८ पुस । नेकपा माओवादी केन्द्रको विभिन्न केन्द्रीय निकायमा धादिङबाट सात जना नेताहरूको प्रतिनिधित्व भएको छ ।
माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा धादिङका विष्णुपुकार श्रेष्ठ निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित भएका छन् । उनी यसअघि पनि सोही जिम्मेवारीमा रहेका थिए ।
पार्टीको केन्द्रीय समितिमा पुष्पविक्रम मल्ल, कल्पना धमला, शालिकराम जमरकट्टेल, ओम शर्मा र दिपा सिंखडा चयन भएका छन् । सिंखडा महिला युवा तर्फबाट केन्द्रीय कमिटीमा चयन भएकी हुन् । बाँकी नेताहरु यस अघि पनि केन्द्रीय समितिमै रहेका थिए ।
त्यस्तै, धादिङका पुराना नेता मोहन कार्की अनुशासन आयोगकको सदस्यमा चयन भएका छन् । उनी धादिङमा जनयुद्ध पृष्ठभूमिका सबैभन्दा पूरा नेता हुन् । केही समय अघि उनी विप्लव नेतृत्वको माओवादीबाट नेकपा माओवादी केन्द्रमा फर्किएका थिए ।
धादिङ माइतीघर भएकी सोमती तमु पनि केन्द्रीय समितिमा परेकी छिन् । उनी हाल कास्की कार्यक्षेत्र बनाएर काम गरिरहेकी छिन् ।