चैत्र ३ गते, २०८१ - २२ः५०
Follow us:

ओमिक्रोन देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

एजेन्सी, १७ मंसिर । अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ संक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् । तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् ।
न्यूयोर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ । अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन संक्रमण देखिएको थियो।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन्। उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ।

बिहीवार सार्वजनिक गरिएको विवरणअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ।

अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट देखिएसँगै कोरोनाभाइरस फैलिन नदिनका लागि जो बाइडेन नयाँ नियमहरूसहित अमेरिकी जनतासमक्ष देखिएका छन् ।
एएफपी

प्रतिकृया लेख्नुहोस्: