उत्तरी धादिङको पहिरोको जोखिम युक्त बस्ती स्थानान्तरण गर्न सांसद सिंखडाको माग
भाद्र २ गते, २०७७ - १४ः२२ मा प्रकाशित
धादिङ, २ भदौ । उत्तरी धादिङमा पर्ने रुबी भ्याली गाउँपालिकाका अधिकांश ठाउँहरु पहिरोको जोखिममा रहेको वागमती प्रदेशका सांसद जगत सिंखडाले बताउनुभएको छ ।सोमबार जोखिममा रहेका ठाउँहरुको निरीक्षण गरेर फर्किएका सांसद सिंखडाले रुबी भ्याली गाउँपालिकाको अधिकांश ठाउँहरु जोखिममा रहेको जानकारी दिनुभयो । ‘रुबि भ्याली गाउँपालिकाका कपुर गाउँ, हेम्दुङ र तिरमा रहेका बस्तीहरु धेरै जोखिम देखिएको छन्,’ उहाँले भन्नुभयो, ‘हामीले बस्ती निरीक्षणपश्चात जोखिममा रहेका गाउँहरुको स्थानान्तरणको लागि सरकारसँग जोडदार माग गरेका छौं ।
सोमबार सांसद सिंखडाको नेतृत्वमा गाउँपालिकाकी उपाध्यक्ष बिना लामा र रेडक्रस धादिङका सभापति नारायण तिमल्सिना पहिरो प्रभावित गाउँमा हेलिकप्टरमार्फत् निरीक्षणमा जानुभएको थियो ।निरीक्षणका क्रममा अति प्रभावित परिवारलाई ९० वटा त्रिपाल वितरण गरिएको सांसद सिंखडाले बताउनुभयो । ०७२ सालको भूकम्पपछि सरकारले ती बस्तीहरुलाई रेड जोनमा राखेको थियो । उक्त हिन्दुङ गाउँका स्थानीयहरुलाई स्थानान्तरणको लागि २ लाख र घर बनाउनको लागि ३ लाख गरी ५ लाख दिएको थियो । गाउँपालिकाले बोराङमा घर बनाउन जग्गा उपलब्ध गराएपनि स्थानीयले आफ्नो पुरानो बस्ती छाड्न सकेका छैनन् ।
‘मैले स्थलगत अवलोकन नै गरेर आएँ, ९४ घर अहिले तत्काल सुरक्षित स्थानमा नगई सुखै छैन,’ सांसद सिंखडाले भन्नुभयो, ‘कति खेर बग्ने हो ठेगान छैन । गाउँपालिकासँग समन्वय गरेर तत्काल उनीहरुलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरेको छु ।’ रुबी भ्यालीकै ६ सय घरधुरी रहेको सेर्तुङ, लापाको नजिकै रहेको कपुरगाउँ पनि उच्च पहिरोको जोखिममा रहेको सिंखडाले बताउनुभयो ।रूवीभ्याली(२ मा पर्ने सिम्पले र दक्दुङ बस्तीका केहि घरहरु समेत पहिरोको जोखिममा रहेका रुबिभ्याली गाउँपालिकाले जानकारी दिएको छ ।