धादिङ १४ मंसिर । धादिङको प्रसिद्ध त्रिपुरासुन्दरी माईको मेला शुक्रबार सकिएको छ । घरबाट भव्य तयारीको साथ तल सल्यानबेसीमा भगवतीको माईलाई राखेपछि मेला सकिएको हो । बिहीबार साँझदेखि रातभर पूजापाठ गरेर शुक्रबार बिहानै त्रिपुरासुन्दरी माईलाई गाउँको मन्दिर सल्यानकोटबाट बेँसीमा रहेको आगिञ्चोकको सल्यानबेँसीमा झारिएको छ । त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानकोटमा माईको घर मानिने सल्यानकोट मन्दिरमा बिहिबार साँझबाट पूजाआजा गरिनुका साथै राती मेला लागेको थियो । त्रिपुरा सुन्दरीमाईलाई शुक्रबार बिहान झिस्मिसेमैं बाजागाजा र लावालस्करसाथ सल्यानकोटमा रहेको मन्दिरबाट माईलाई आगिन्चोक स्थित गणेशस्थान हुँदै माईती घरमा भित्रार्याइएको छ । माईको मुर्ति पुजारी वाहेक अरु कसैले पनि छुन नहुने र छोएमा अनर्थ हुने अनौठो विश्वास रहि आएको छ ।
प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पाउँछन् । सल्यानकोटको घरमा रहेकी त्रिपुरासुन्दरी बेँसीमा रहेको मन्दिर माइतीघरमा न्वागी खान आउने पर्वको अवसरमा भव्य मेला लाग्दै आएको छ ।
भगवतीको प्रतीकलाई बेँसी झार्दा भक्तजन र पुजारीहरुबाट खुँडा, खुकुरीसहित पञ्चेबाजामा नाच देखाउँदै दियो, कलश, बोकेर शङ्ख, घण्ट बजाउँदै र भगवतीको जयजयकार गाउँदै अबिर जात्रा गर्ने गरिन्छ । मेलाको आकर्षण नै सल्यानबेँसीमा त्रिपुरासुन्दरी भगवती बोकेर ल्याउँदाको अवसरलाई लिने गरिएको छ । बाटोमा बसेर पूजा गर्ने तर त्रिपुरासुन्दरी माईको मूर्ति हेर्न नहुने र मुख्य पुजारीबाहेक कसैले पनि छुन नहुने परम्परा रहेको सामाजिक कार्यकर्ता नारायण तिमल्सिनाले बताए ।
त्रिपुरासुन्दरी भगवतीलाई एक वर्ष्भित्र विभिन्न तीन वटा मन्दिरमा लगेर राख्ने र त्यहीँ पूजाआजा गर्ने अनौठो र रोचक परम्परा छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्व्तिरको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । पूर्व्तिरको मन्दिर मामाघरको रूपमा प्रसिद्ध छ । पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिन्छ । उक्त मन्दिर त्रिपुरासुन्दरीको घर भएको बताइन्छ ।