चैत्र १६ गते, २०८० - ००ः४४
Follow us:

सह कोषाध्यक्षमा उम्मेद्वारी दिनुभएका दाहालले भन्नुभयो, ‘एनआरएनमा एक पटक काम गर्ने अवसर दिनुहोस’

एनआरएनए आइसीसीको सन् २०१९–२०२१ कार्यकालका लागि सहकोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएका लोकप्रसाद दाहालको चर्चा यसबेला चुलिएको छ । एनआरएनए बेल्जियममा सर्वसम्मत नयाँ नेतृत्व ल्याउन सफल दाहालको कार्यकुशलताको चर्चाले विश्वका एनआरएनहरुको ध्यान तानेको छ ।

यसअघि एनआरएनए एनसीसी बेल्जियमको अध्यक्ष रहनुभएका दाहाल सर्वसम्मतरुपमा कुनै विवादविना नै पद हस्तान्तरण गर्ने सफल अध्यक्षसमेत बन्नुभएको छ । लामो समयदेखि एनआरएन अभियानमा सक्रिय धादिङ बुढाथुमका दाहालले स्वदेशमापनि धेरै सामाजिक कामहरु गरिरहनु भएको छ । हाल बेल्जियममा व्यवसायसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आउनुभएका दाहालले एनआरएनए आइसीसीको सन् २०१९–२०२१ कार्यकालका लागि केन्द्रीय सहकोषाध्यक्षको उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । उहाँको उम्मेदवारी र भावी कार्यदिशाका बारेमा तयार गरिएको अन्तर्वार्ता :

यहाँले भर्खरै एनआरएनए बेल्जियममा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर आफ्नो भारी बिसाउनु भयो, अब एनआरएनएमा थकाई मार्नेकी अगाडि बढ्ने ?

हो, हामीले धेरै मेहनत र छलफल पश्चात सर्बसम्मतरुपमा एनआरएनए एनसीसी बेल्जियमको नयाँ नेतृत्व चयन ग¥यौ । धेरै एनसीसीबाट सिकेर हामीले सर्बसम्मत गरेका हौं । तपाईले भनेजस्तो मैले भारी बिसाएको होइन, एनआरएन अभियानको अझ ठूलो भारी बोक्न चाहेको हो । एनआरएन अभियानमा मेरो लगानी अझै पुगेको छैन भन्ने मेरो ठम्याई हो । यस अभियानमा अझ सशक्तरुपमा केन्द्रिय पदाधिकारीको रुपमा अगाडि बढ्ने चाहना मैले राखेको छु । समाजमा योगदान गर्नको लागि जिम्मेवार पदमा रहनुपर्ने रहेछ भन्ने मैले आभास गरेको छु । प्रायः सबै एनआरएन अभियन्ता, साथीभाई तथा विभिन्न एनसीसीमा भ्रमण गर्दा पाएको सल्लाह र सुझाव अनुसार मैले आईसीसी २०१९–२०२१ को कार्यकालका लागि सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु । यहाँहरुले विश्वास गर्नुभयो भने म यहाँहरूको विश्वासलाई मर्न दिने छैन भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

एनआरएन अभियानमा काम गर्नका लागि पद नै आवश्यक छ र, पद बाहिर बसेर काम गर्न सकिदैन ?

म एनआरएन अभियानमा धेरै अघिदेखि आवद्ध छु र यसक्रममा एनआरएनए एनसीसी बेल्जियममा शुरुबाटै सक्रिय रहदै आएको छु । एनआरएनए बेल्जियमको कार्यसमितिमा भर्खरै अध्यक्षको २ वर्षे कार्यकाल सम्पन्न गरे यसभन्दा अघिल्लो कार्यकालमा पनि महासचिवको रुपमा काम गरे । एनआरएन अभियानमा मेरो यात्रा निरन्तर रहनेछ तर यसको लागि म पदमै बसेर मात्र काम गर्नुपर्छ भन्ने मान्यता राख्दिन् । एनआरएन अभियानमा पदभन्दा बाहिर बसेर पनि धेरै काम गर्न सकिन्छ । तर, एनआरएन अभियानमा लागेका धेरै साथीभाईहरुले तपाई जस्तो मान्छे एनआरएनएको कार्यसमितिमा आउनुपर्छ भन्ने जुन हौसला र सहयोग पाएको छु यसले मलाई एनआरएन अभियानमा लाग्न थप उर्जा दिएको छ ।

सहकोषाध्यक्ष भन्ने बित्तिकै आइसीसी र संघको समग्र कोषको कुरा आउँछ, तपाईको त्यस्तो एजेण्डा वा प्लानिङ केही छन्, किन तपाईलाई उक्त पदमा ल्याउने ?

एनआरएनएमा पहिलेदेखिनै आर्थिक कोषको धेरै भद्रगोल हामीले देखेका छौं । एनसीसीदेखि आइसीसीसम्ममा गएका वा हामीले पठाएका रकमहरु सबै एनसीसी, आइसीसीले खोजीरहेका छन । त्यसले ट्रान्सपरेन्सी एकदम प्रष्ट हुने तरिकाले त्यसलाई लानुपर्छ । एक–एक युरो हाल्ने नेपालीले समेत थाहा पाउने गरी हामीले गैरआवासीय नेपालीहरुलाई जानकारी गराउँनुपर्छ । त्यसको लागि म कोषमा भएका हिजोदेखिका विवरणहरुबारे प्रत्येक एनसीसीलाई जानकारी दिने प्रयत्नमा रहनेछु र कोष नभई संस्था चल्दैन त्यसैले यो कोषलाई कसरी अभिवृद्धि गर्दै लाने भन्ने प्रयत्न मेरो रहनेछ । हामीले समृद्ध नेपाल भनेका छौं तर एनआरएनसँग पैसा छैन । दुई चार जना एनआरएनसँग मात्र पैसा भएर समृद्ध नेपाल बन्दैन । सिङ्गो एनआरएनले नेपालको विषयमा सोच्ने हो भने एनआरएनको एक–एक युरो जम्मा गरेर कोषलाई सदस्यबाट चल्ने मात्र नभएर त्यो कोषलाई कसरी अभिवृद्धि गर्ने भन्ने विभिन्न प्लानिङहरु गर्नुपर्छ । केही समयपछि म त्यसका लागि अवधारणासहित लिएर आउनेछु । अहिलेको लागि भने कोष एकदम ट्रान्सपरेन्सी हुनुपर्छ र त्यसको लागि हामीले संसारभरी छरिएर बसेका नेपालीहरुलाई आफुले लगानी गरेको एक रुपैयाको विवरण पनि पेश गर्न सक्नुपर्छ भन्ने मेरो प्रमुख एजेण्डा हो । अबका केहि दिनमा थप एजेण्डाहरु पनि सार्वजनिक गर्ने तयारीमा रहेको छु ।

एनआरएन अभियानमा तपाई विगतदेखि नै लाग्नुभएको छ तर यो अभियान अपेक्षाकृतरुपमा अगाडि बढिरहेको छ त ?

एनआरएनए विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था भएको हुनाले तथा नेपालीहरुको सुखमा साथ र दुःखमा मल्हम लगाउने संस्था भएको हुनाले यो एनआरएनएको मुभमेन्टमा हिड्दा मैले धेरै पोजेटिभ पाटोहरु पाएको छु । नेगेटिभ पाटोहरु पनि छन् र ति नेगेटिभ पाटोहरुलाई कोट्याएर पोजिटिभ पाटोलाई अघि बढाउदै जाने हो । त्यो हिसाबले म अहिले जुन मुभमेन्टमा आएको छु यसमा केही राम्रा कार्यहरु छन् । जस्तै हामीले विदेशमा आर्जन गरेको ज्ञान सीप र पैसालाई नेपालको समृद्धिमा लगाउन सक्छौं, नेपालमा लगानीको लागि कृषि, हाइड्रो लगायतका क्षेत्रमा विभिन्न प्रोजेक्टहरु लगेका छौं । नेपाल सरकारले अहिले एनआरएन व्यवसायीहरुलाई केही खुकुलो बनाइदिएको कारणले यो एनआरएन मुभमेन्टमा मैले धेरै पोजिटिभ पाटो पाएको छु । नेपाल र नेपालीहरुको लागि धेरै काम गर्न सकिन्छ भन्ने लागेर नै मैले एनआरएनएमा सहकोषाध्यक्षको उम्मेदवारी घोषणा गरेको छु ।

एनआरएनएको काठमाडौ विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैैछ, नेतृत्वका लागि होडबाजी चलिरहेको छ । अधिकांश एनआरएनए एनसीसीले सर्वसम्मत नेतृत्व चयन गरे, तपाईको एनसीसीले पनि यसको उदाहरण प्रस्तुत गरेको छ, भोलि आइसीसीको नेतृत्व चयन कस्तो हुनुपर्छ ?

पक्कै पनि हामी सर्वसम्मत नै होेस् भन्ने चाहान्छौ । तर, चाहदैमा सबै कुरा पुरा हुन्छ भन्ने छैन् । चुनावको माहोल नै यस्तै हो यसमा हार–जित हुन्छ । सकेसम्म सर्वसम्मत नै गरेको राम्रो किनभने सर्वसम्मतले गरेको निर्णयले काम पनि राम्ररी गर्न सक्छ । हामीले केन्द्रिय नेतृत्वलाई सर्वसम्मत नै भन्छौ र भन्दा भन्दै पनि अहिलेसम्म यस्तो भएको छ्रैन । एनआरएन भित्र पनि केही राजनितिक तत्वहरुले डिस्टर्ब गरेको हुनाले सर्वसम्मत हुन एकदमै कठिनाइ छ । त्यसकारण हामीले सकेसम्म सर्वसम्मत भएर आउनुस भन्छौ नभए पनि चुनावी प्रक्रियालाई त अपनाएर जानैपर्छ र त्यो चुनावी प्रक्रियाबाट आएको नतिजालाई हामीले सम्मान गर्नुपर्छ ।

यतिवेला तपाईले एनआरएनए बेल्जियमको अध्यक्ष पद छोड्दै गर्दा आफुले गरेका काम केही सम्झनुहुन्छ ?

म अध्यक्ष हुनुभन्दा अघि महासचिव भएको बेलादेखि नेै हाम्रो टिमले बेल्जियमको गैरआवासिय नेपाली संघले गर्नसक्ने सामाजिक कामहरु गरेका छौं । नेपालको प्रमोशनको लागि त्यहाँको दुतावाससँग सहकार्य गरेर साथै ६० वटा जति संघसंस्थासँग हातेमालो गरेर नेपालको प्रर्वद्धनका लागि नेपालको ह्याण्डीक्राफ्टहरु, बास्तुकलाहरु, नेपालको संस्कृतिलाई झल्काउने काम गरेकाछौं । नेपालमा बेल्जियमका टुरिष्टहरु भित्राउने काम गरेकाछौ । त्यस्तै सामाजिक क्षेत्रमा पनि हामीले धेरै राम्रा कामहरु गरेका छौं । नेपालमा सानोतिनो केही विपत्ती भयो भने पनि हामी बेल्जियममा बस्ने सम्पूर्ण नेपालीहरुको छाती चर्किन्छ त्यतिखेर हामी सबै एकजुट भएर जति सक्छौ त्यति कोष खडा गरेर अथवा व्यक्तिरुपमा होस वा भोलियन्टयर लगेर होस् हामीले सहयोग गरेका छौ । भुकम्पको समयमा होस या तराईमा भएको शितलहर र हावाहुरी आउँदा नै किन नहोस यस्ता विपत्तिमा विभिन्न सहयोग गरेका छौं ।

यस्तै बेल्जियममा रहेका सम्पूर्ण संघसंस्थाहरुसँग सहकार्य गर्दै नेपाल फेस्टिभल मनाउन सफल भइरहेका छौ । विभिन्न च्यारिटी प्रोग्राम पनि गरिरहेका छौ, जसबाट उठेको पैसाले जाजरकोटको एकदमै विकट क्षेत्रमा मेडिकल इक्विपमेन्ट सहितको भवन निर्माण गर्ने उद्देश्य राखेका छौं । यस्ता धेरै कामहरु भएका छन् र अव पनि निरन्तर हुनेछन् ।

केही व्यक्तिगत कुरा गरौ, तपाई कसरी एनआरएन बन्नुभयो र कसरी व्यापार व्यवसायमा सफल बनिरहनुभएको छ ?

सन् १९९९ मा म बेल्जियम आएको हुँ । यसक्रममा सन् २००३ देखि नै म एनआरएनको मुभमेन्टमा लागे । म त्यतिबेला काम गर्थे । सन् २०१० बाट मैले आफ्नै व्यवसाय सुरु गरे । व्यवसायको सिलसिलामा म व्यवसाय संघको महासचिव पनि भए । त्यसपछि म एनआरएनएको महासचिव भए र एनआरएनएको अध्यक्ष हुँदै अहिले यो ठाउँमा आइपुगेको छु । बेल्जियममा मेरो रेष्टुरेण्ट र होटल व्यवसाय छ । मेहनेत, इमान्दारिता र निरन्तरताले पछाडि फर्किएर हेर्नु परेको छैन ।

एनआरएन अभियानका त धेरै कुरा भए यहाँले सामाजिक कामहरु स्वदेशमा के के गर्नु भएको छ त ?

स्वभावैले मानिसलाई आफ्नो जन्मभूमी भनेपछि सम्मान लाग्छ । हामी एनआरएन अभियन्ताहरु नेपाललाई सहयोग गर्ने भनेर लागेका छौं । त्यसमाथि पनि आफ्नो जन्मस्थानको लागि झनै गर्नु पर्छ जस्तो लाग्छ । मैले आफ्नो जन्मभूमिमा पनि केही सामाजिक कामहरू गरेको छु । आफ्नो जन्मभूमिको लागि २०७२ सालको भूकम्प पश्चात् २७ जना विशिष्ट डक्टरहरूको समूह लगेर स्थानियहरुलाई उपचार गर्न मद्दत गरें, त्यसैगरि भूकम्पको बेलामा गोरखा र धादिङमा खाद्यन्न लगायतका अतिआवश्यक बस्तुहरु वितरण गरें, आफूले अध्ययन गरेको गाउँको बिद्यालय निर्माण, मन्दिर निर्माण, खानेपानी निर्माण जस्ता अन्य धेरै कामहरु गरेको छु । अझै धेरै कामहरू गर्न बाँकी छ ।

साथै व्यावसायिक रूपमा पनि मैले आफ्नो देशमा धेरै भन्दा धेरै विदेशी लगानी भित्र्याउन पहल गरिरहेको छु । नेपालका विभिन्न हाइड्रो कम्पनीमा लगानी गर्दैछु । अब युरोपमा भन्दा आफ्नै देश नेपालमा लगानी बढाउँदै छु । बेल्जियममा उत्पादित बियर कानूनी प्रकृया पुरा गरि व्यवसायीक रुपमा नेपालमा पनि आयात गर्दै छु । मानिस सामाजिक प्राणी भएकोले आफ्नो व्यवसायिक जीवनबाहेक समाजलाई पनि योगदान दिनुपर्छ भन्ने मेरो मान्यता हो । (साभारः रोजगारमञ्च)

प्रतिकृया लेख्नुहोस्: