भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ ।
अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ ।
निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६
प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
कार्यालय सिंहदरबारमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा गरिएको
थियो ।
सो क्रममा जीआईईटीसी–रमन जेभीका कन्ट्र्याक्टर
रेप्रिजेन्टेटिभ रमन महतोले समग्रमा २६ प्रतिशत प्रगति हासिल भएको जनाए ।
उनका अनुसार निर्माणस्थलका हिसाबले भने ६७.५ प्रतिशत प्रगति भएको छ ।
धराहरा
पुनर्निर्माणअन्तर्गत सुनधाराको गोश्वारा हुलाक नै हटाएर काम अघि बढिरहेको
छ । गोश्वारा हुलाक रहेका भवनहरू भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि
पूर्वपट्टि प्रोटेक्सन पाइलहरू हाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको
छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । ‘गुणस्तर कायम राख्न कुनै कसर बाँकी राख्न भएन, तोकिएकै समयमा काम सम्पन्न हुनुपर्दछ,’ उनले भने । राजधानी दैनीकबाट