संसद् सचिवालयको मनोमानीः चल्ने गाडी थन्क्याउँदै, नयाँ किन्दै
श्रावण २१ गते, २०७६ - १३ः४८ मा प्रकाशित
काठमाण्डौ २१ साउन ।
संघीय संसद् सचिवालयले आफूसँग भएका दर्जनौं सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद गरेको खुलासा भएको छ ।
सचिवालयमा
भएका गाडी थन्काएर नयाँ किन्दा राज्यलाई १२ करोड बढी रुपैयाँको व्ययभार
थपिएको छ । सरकारले आर्थिक मितव्ययिताको नीति अवलम्बन गरिएको बताउँदै आए
पनि संसद् सचिवालयले भने सो नीतिको खिल्ली उडाउँदै महँगो मूल्यमा
स्कार्पियोे गाडी खरिद गरेको हो । सचिवालयका अनुसार पछिल्लोपटक प्रतिगाडी
झन्डै ६५ लाख मूल्य तिरिएको छ ।
सचिवालय परिसरमा सय बढी सवारी साधन
थन्क्याएर राखिएको छ भने बर्से्नि महँगोमा गाडीहरू थप्ने क्रम जारी छ ।
परिसरमा राखिएका गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ
किन्नकै लागि ‘बिग्रिएको’ भन्दै प्रयोग नगरेको पाइएको छ ।
सचिवालयले चलिरहेका गाडी थन्क्याएर संसदीय समितिका सभापतिहरूलाई नयाँ गाडी किनेर दिएको हो । सभापतिहरू पनि नयाँ गाडी चढ्ने होडबाजीमा उत्रन थालेका छन् । सचिवालयका कर्मचारीका अनुसार सभापतिको नयाँ गाडी चढ्ने लालसाका कारण पुराना गाडी थन्काएर नयाँ किन्नुपर्ने बाध्यता आएको हो । आजको राजधानी दैनिकबाट