कार्तिक २१ गते, २०८१ - ०१ः५२
Follow us:

खेर गयो पुरनको शतक, श्रीलंकासँग वेस्ट इण्डिज पराजित

काठमाडौं, १७ असार । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न ३९औं खेलमा वेस्टइन्डिज श्रीलंकासँग २३ रनले पराजित भएको छ ।

३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो । वेस्टइन्डिजका लागि युवा खेलाडी निकोलस पुरनले १ सय १८ रनको योगदान दिएपनि उनले पराजय रोक्न सकेनन् । पुरनले १ सय ३ बलमा ११ चौका र ४ छक्कासहित उक्त योगफल तयार पारेका हुन् । उनलाई ४८औं ओभरको पहिलो बलमा एन्जिलो मेन्थिसले कुशल परेराबाट क्याच आउट गराएपछि वेस्ट इण्डिजको पराजय निश्चित भएको थियो ।
यो जितसँगै श्रीलंकाले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंकगणितीय संभावना कायमै राखेको छ ।

विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले तेस्रो ओभरको दोस्रो बलमै सुनिल एम्ब्रिसलाई ५ रनमा गुमाएपछि टिम दबावमा पर्‍यो । उनलाई लाथिस मलिंगाले कुशल परेराबाट क्याच आउट गराए । मलिंगालेनै शाई होपलाई पाँचौं ओभरको अन्तिम बलमा ५ रनमा बोल्ड आउट गरेपछि वेस्ट इण्डिज तीव्र दबावमा पर्‍यो । ।

१६ ओभरको दोस्रो बलमा कसुन रजिथाले क्रिस गेललाई ३५ रनमा क्याच आउट गराए । ४८ बलमा २ छक्का र १ चौका प्रहार गरेका गेल पनि गएपछि वेस्ट इण्डिजको जित्ने सम्भावना थप कमजोर भयो । लगत्तै शिमरोन हिटमायर २९ रनमा रन आउट भए । जोसन होल्डर २६ र कार्लोस बर्थवेट ८ रनमा आउट भएपछि वेस्ट इन्डिज ३४.३ ओभरमा केवल १९९-६ को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रमका ब्याटिङ गर्न आएका एविएन एलिनले वेस्ट इण्डिजको रन केही उकासे । उनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोडे । ४५ ओभरको पहिलो बलमा निकोलस पुरनसँग रनमा तालमेल गर्न नसक्दा उनी पनि रन आाउट भए ।

श्रीलंकाका लागि लाथिस मलिंगाले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट हात पारे । कसुन रजित,जेफ्री भान्डरसेय र एन्जिलो मेन्थिजले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । श्रीलंकालाई विशाल रन जोड्नेक्रममा अविष्का फर्नान्डोले आफ्नो वनडे करिअरको पहिलो शतक लगाए । यो विश्वकपमा शतक लगाउने श्रीलंकन टिमको उनी पहिलो ब्याट्सम्यान बनेका छन् । फर्नान्डो १०३ बलमा ९ चौका र २ छक्कासहित १०४ रन जोडेर आउट भए ।

श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले २६ रन बनाए । उनलाई जेसन होल्डरले बोल्ड गरे । म्याथ्युजले अविष्कासँग ५८ रनको साझेदारी गरे ।
त्यसैगरी कुसल परेरा ६३ रन बनाएर आउट भए । उनले जारी विश्वकपमा आफ्नो तेस्रो अर्थशतक पूरा गरे । कप्तान दिमुथ करुणारत्ने ३२ रन बनाएर जेस होल्डरकै बलमा आउट भए । दिमुथले परेरासँग पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । कुसल मेन्डिस ३९ रन बनाएर फैबियन एलेनको बलमा आउट भए । उनले अविष्कासँग ८५ रनको साझेदारी गरे ।

इसुरु उडाना ३ रनसहित आउट भए । उनलाई होल्डरले थोमसको हातबाट क्याच गराएका हुन् । लाहिरु थिरीमानेले ३३ बलमा ४ चौकासहित ४५ रन जोड्दै अविजित रहे भने धनञ्जय सिल्भा भने ३ बलमा १ चौकासहित ६ रन जोडेर अविजित रहे ।
वेस्ट इण्डिजको लागि जेसन होल्डरले २ विकेट लिए भने फेबियन एलेन, ओसेन थोमस, शेल्डन कोट्रेलले समान १/१ विकेट लिएका थिए ।

विजयसँगै श्रीलंका ८ खेलमा समान ३ मा जित र हारका साथ ८ अंक जोड्दै छैटौं स्थानमा पुगेको छ । श्रीलंकाको दुई खेल वर्षाको कारण रद्ध भएको थियो । यता ८ खेलमा ६ मा हार र १ मा जित सहित वेस्ट इन्डिज नवौं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्: