धादिङ १५ असार । धादिङको सिद्धलेक गाउपालिकाको आयोजनामा आईतबार परेवाटारमा राष्ट्रिय धान दिवस भव्य रुपमा मनाईएको छ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ६ स्थित परेवारटारमा बाजागाजा सहित धान दिवस मनाईएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनी धान रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लोहनीले तीन बर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने बताउनुभयो ।
यसको लागि कृषिमा यान्त्रिकरणको आवश्यकता रहेको भन्दै उहाँले अहिलेको सरकार त्यसतर्फ सचेत रहेको बताउनुभयो । धादिङ जस्तो सम्भावना बोकेको ठाउँमा कृषिको प्रचुर सम्भावना रहेको भन्दै उहाँले युवाहरु विदेश जान छाडेर कृषिकर्म तीर लाग्नुको लागि आग्रह गर्नुभयो ।थोरै काम गरेर धेरै आम्दानी लिने सिप किसानलाई दिनुपर्ने भन्दै यसको लागि केन्द्रिय सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले कृषि क्षेत्रको लागि गाउँपालिकाले कुनै कसुर बाँकि नराखेको बताउनुभयो । किसानहरुलाई ट्याक्टर वितरण गर्नेदेखी अनुदानमा कृषि काम गर्नको लागि समेत बजेटको व्यावस्था गरेको भन्दै उहाँले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने बताउनुभयो ।
कार्यक्रममा सिद्धलेक गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराई,वडा अध्यक्ष तथा नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।