आश्विन २४ गते, २०८१ - १२ः३३
Follow us:

खानेपानीको चरम समस्या रहेको सिद्धलेकको काम्राङमा घरैपिच्छे धारो


धादिङ ७ असार ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ मा रहेको काम्राङ डिप बोरिङ खानेपानीको उद्घाटन शनिवार सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिका र अक्सफाम सँगको सहकार्यमा फोकस नेपालले निर्माण सम्पन्न गरेको खानेपानी आयोजनाको शनिवार विधिवत रुपमा उद्घाटन गरीएको हो । खानेपानी उद्घाटन समारोहमा बोल्दै मन्त्री शालिकराम जम्कट्टेलले खानेपानी पहिलो प्राथमिकता भएको भन्दै त्यस क्षेत्रमा बजेट बिनियोजित गर्नको लागि आग्रह गर्नुभयो ।
पानीको विकल्प अन्यकेहि नभएको भन्दै उहाँले प्रदेश तथा स्थानीय तहले खानेपानीको समस्या समाधान गर्नको लागि अग्रसर हुनुपर्ने बताउनुभयो । कृषिमा आमुल परिवर्तनको खाँचो भएको भन्दै उहाँले बिशालटारमा कृषि तालिम केन्द्र सन्चालन गर्ने लक्ष्य रहेको समेत बताउनुभयो । दुग्ध बेच्ने किसानहरुलाई प्रदेश सरकारले लिटरको एक रुपैया थपेर दिने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले गाउँपालिकाले स्वास्थ्य,खानेपानी,शिक्षा र कृषिमा लगानी बढाएको बताउनुभयो । गाउँपालिकालाई तिर्खा मुक्त गाउँपालिका बनाउने उद्देश्य अनुरुप डिप बोरिङ सन्चालन गरेको भन्दै आगामी बर्षमा पनि डिप बोरिङको कामलाई निरन्तरता दिने बताउनुभयो ।

काम्राङ डिप बोरिङ खानेपानी आयोजनाका अध्यक्ष मान बहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्मा,जिल्ला समन्वय समितिका सदस्य कृष्ण अर्याल,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराई, फोकस नेपालका अध्यक्ष हेमराज छत्कुली र प्रहरी प्रमुख राजकुमार बैदवारको विशेष आतिथ्य रहेको थियो । सिद्धलेक गाउँपालिकाको ३० लााख १० हजार,अक्सफाम र फोकस नेपालको ३९ लाख ७७ हजार ७ सय ३६ र स्थानीय जनश्रमदान १७ लााख ८२ हजार ८ सय ८ रुपैँया गरी जम्मा ८७ लाख ७० हजार ५ सय ५५ रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो । खानेपानीबाट स्थानीय १ सय २२ घरधुरीका ६ सय ६५ जना नागरिकहरु लाभान्वित भएका छन् । १ सय ३२ मिटर तलबाट बोरिङ गरीएको पानी ५० हजार लिटरको ट्याङकीमा रिजर्भ गरेर खानेपानी वितरण गरीएको छ । खानेपानी निर्माणको लागि जग्गा दान गर्ने र सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरीएको थियो ।

प्रतिकृया लेख्नुहोस्: