सुख्खा पहिरोका कारण रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा खटिएको नेपाली सेना, प्रहरी र स्थानीयबासीको पहलमा उद्धार गरिएको हो । रसुवाको गोसाइकुण्ड –२ मा पर्ने आयोजनास्थलमा रहेको सुरुङमा हिँजो साँझ करिव साढे ८ बजे झरेको सुख्खा पहिरोमा कामदारहरु थुनिएका थिए ।
सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ कामदार भएकोमा एक जना नेपाली कामदार सामान्य घाइते भएका छन् ।
सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको छ । रसुवामा एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माणाधीन छ । सुरुङको मुख मात्रै थुनिएकोले उद्धारमा सजिलो भएको जनाइएको छ । सुरुङभित्र थुनिएकाहरूको ११ घण्टापछि सकुशल उद्धार गरिएको हो ।