भाद्र ९ गते, २०८३ - १६ः५३
Follow us:

रेडक्रस कोषाध्यक्षमा धादिङका सिताराम कोइराला चयन

धादिङ, ८ जेठ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षमा धादिङका सिताराम कोइराला मनोनित भएका छन् । रेडक्रस धादिङका सभापति समेत रहेका कोइराला केन्द्रको कोषाध्यक्षमा मनोनित भएका हुन् ।

यस अघिको केन्द्रीय कार्यसमितिलाई नेपाल सरकारले विघटन गरेको हो । रेडक्रसको वर्तमान कार्यसमितिका पदाधिकारीले अनियमितता गरेको भन्दै सरकारले हालको केन्द्रीय कार्यसमिति विघटन गरी तदर्थ समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटीका वर्तमान अध्यक्ष सञ्जीव थापा नेतृत्वको कार्यसमिति विघटन गरेको हो । नवगठित तदर्थ समितिको
अध्यक्षमा सोसाइटीका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वकेशर मास्केलाई मनोनित गरिएको छ । मास्केको अध्यक्षतामा गठित १७ सदस्यीय तदर्थ कार्यसमितिमा धादिङका कोइराला कोषाध्यक्ष मनोनित भएका हुन् । समितिको महामन्त्रीमा झापाका कमलप्रसाद निरौला चयन भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले संस्था दर्ता ऐन, २०३४ को दफा ११ बमोमिज रेडक्रसको वर्तमान कार्यसमिति विघटन गरिएको जानकारी दिएको छ ।

नयाँ तदर्थ समितिलाई एक वर्षभित्रै विधान संशोधन गरी विभिन्न कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ । नयाँ तदर्थ समितिलाई नवीकरण भएका सदस्यहरूको छानबिन तथा पुनः सदस्यतता नवीकरणसम्बन्धी कार्य गर्ने तथा उपत्यकाका शाखा तथा प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।

नयाँ गठित तदर्थ समितिका सदस्यहरूमा जाजरकोटका वीरबहादुर बस्नेत, झापाका लोकराज ढकाल, सिन्धुलीका अशोक श्रेष्ठ, पर्साका श्याम पोख्रेल, बर्दियाका कृष्ण गौतम, महोत्तरीका दीपक मिश्र, बाँकेका गोवद्र्धन सम्झना, उदयपुरका महेश्वरी राई रहेका छन् । यसैगरी, दैलेखका खेमराज केसी, तेहथुमका श्रीकृष्ण दाहाल, कास्कीका दीपेन्द्र ढकाल, तनहुँका अरुण खनाल, कैलालीका जीवन राना र चितवनका तीर्थराज घिमिरे रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्: