जेष्ठ ५ गते, २०८३ - २२ः१९
Follow us:

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण


काठमाण्डौँ २३ बैशाख
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकिकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नवगठित पार्टीको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । यस्तै अशोककुमार राई वरिष्ठ नेता र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका छन् । दुवै दलबाट ८ जना उपाध्यक्षमा चयन भएका छन् । नवराज सुवेदी, युवराज कार्की, परशुराम खापुङ, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत, हेमराज राई उपाध्यक्ष चयन भएका छन् । महासचिवमा र उपमहासचिवमा तीन–तीनजना र सचिवमा चारजना चयन भएका छन् । महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्द्ङवा, रामसहाय प्रसाद यादव र उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा प्रकाश अधिकारी रहेका छन् । मोहमद इस्तियाक राई, दुर्गा सोव, परशुराम बस्नेत, प्रशान्त सिंह सचिब र कोषाध्यक्षमा विजय यादव चयन गरिएको परिषद् अध्यक्ष भट्टराईले घोषणा गर्नुभयो । नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने कार्यक्रममा घोषणा गरेको छ । संविधान सभाका बेला गठन गरिएको राज्य पुनर्संरचना आयोगको सुझावका आधारमा संविधान संशोधन गरी ११ प्रदेश खाकाअघि सार्ने र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति समेत भएको छ ।

प्रतिकृया लेख्नुहोस्: