फाल्गुन २२ गते, २०८२ - ११ः५२
Follow us:

मानपदवी दिने भनेर गायक पशुपति शर्मालाई सरकारले झुक्यायो

काठमाण्डौं ३ बैशाख

गृह मन्त्रालयले २०७५ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन घोषित विभूषणहरुमध्ये मानपदवी प्राप्त गर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गर्‍यो ।

विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएको नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री मध्ये गायक शर्मालाई प्रबल जनसेवा श्री प्रदान गर्ने सरकारले निर्णय गरेको थियो । 

गत असोज ३ गते सरकारले घोषणा गरेको उक्त मानपदवी आइतबार अर्थात नयाँ वर्षको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन् । सरकारले मानपदवी प्रदान गर्नका लागि निर्णय गरेर खबर पठाएका अधिकांश व्यक्ति प्राप्त मानपदवी ग्रहणका लागि सरकारले तोकेको पोशाक र समयमा राष्ट्रपति कार्यालय पुगे पनि प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) को ९ नम्बरमा नाम रहेका गायक पशुपति शर्माले भने खबर पाएनन् ।

शर्माले केही समयअघि ‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई व्यङ्ग्य गरेको भन्दै सत्तारुढ पार्टीका कार्यकर्ताले धम्की दिएपछि युट्युबबाट हटाएका थिए ।

सरकारलाई यस्ता गीत प्रतिबन्ध लगाउन माग गरिरहेकै बेला युवासंघका कार्यकर्ताले शर्मालाई टेलिफोन गरेर गीत हटाउन धम्की दिएपछि उनले युट्युबबाट उक्त गीत हटाएका थिए ।

नयाँ वर्षको दिनमा शर्मा भने पर्वतको कुश्मामा भएको कार्यक्रममा पुगेका थिए । असोज ३ गते सरकारले मानपदवी घोषणा गर्दा आफ्नो नाम परेको थाहा पाए पनि आइतबार प्रदान गरिँदैछ भन्ने आफूलाई सम्झना नभएको र खबर पनि नपाएको शर्माले बताए । 

“पदक घोषणा गर्दा मेरो पनि नाम छ भनेर मैले कसैबाट सुनेको थिएँ । तर नयाँवर्षको दिन प्रदान गरिँदैछ भन्ने मलाई जानकारी थिएन,” गायक शर्माले बाह्रखरीसँग भने, “आइतबार प्रदान हुँदैछ भन्ने मैले त्यसैदिन बिहान ८ बजे मात्रै थाहा पाएँ । म त्यतिबेला पर्वतको कुश्मामा एउटा कार्यक्रमा थिएँ ।”

उनले आफूलाई सरकारबाट औपचारिक रुपमा कुनै जानकारी नआएको बताए । यद्यपि पछिल्लो समय कार्यव्यस्तताले मोबाइल साइलेन्स मोडमा हुने हुँदा नउठेको हुन सक्ने उनको भनाइ छ ।

“मैलै मानपदवी बहिष्कार गरेको होइन । लिन्न भनेर नलिएको पनि होइन । बहिष्कार गरेको पनि होइन । आजकाल धेरैजसो फोन म उठाउँदिन । कति त मोबाइल साइलेन्स मोडमा पनि हुन्छ । सरकारले फोन गरेका बेला फोन नउठेको पनि हुन सक्छ,” उनले स्पष्ट पारे ।
मानपदवी पाउने सम्बन्धित व्यक्तिलाई गृह मन्त्रालयले फोन गरेर राष्ट्रपति कार्यालयमा जाने चिठ्ठी लिन मन्त्रालय आउनका लागि बोलाउने गरेको छ । 

प्रबल जनसेवा श्री मानपदवी पाउने व्यक्तिलाई गृहले २६ गते फोन गरेर राष्ट्रपति कार्यालय सितल निवास प्रवेशका लागि तयार भएको चिठ्ठी लिन आउनका लागि खबर गरेको थियो । १२ खरीबाट

प्रतिकृया लेख्नुहोस्: