घलेराजाको शासनस्थल धादिङको भंगेरिचुली पर्यटकीय हव बन्दै
चैत्र ५ गते, २०७५ - ०३ः२५ मा प्रकाशित
धादिङ । धादिंङ् जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर १४ मा अवस्थित भंगेरिचुली क्षेत्रलाई पर्यटकीय हव बनाउन स्थानीय लागि परेका छन् । स्थानीय रुपमा नै अझेलमा परेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धुँवाकोट भंगेरिचुली क्षेत्रको विकास गरि प्रचार गर्नको लागि विभिन्न कार्यक्रमहरु शुरु गरेका हुन् ।
विगतमा
नाग पुजा गरिंदै आएको सो ठाउँमा हाल शिवरात्रीको अवसर पारेर शिवमन्दिरको
उत्घाटन गरिएको छ। सो निर्माणका लागि नेपाल पर्यटन वोर्डबाट कुल ३१ लाख १०
हजार बजेट छुट्याईएकोमा जम्मा २६ लाख ५५ हजार प्राप्त भएको भंगेरिचुली
शिवमन्दिर सम्रक्षण समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए। २०७२ साल
बैशाखबाट निर्माण शुरु गरिएको मन्दिर र मन्दिरसम्म पुग्नको लागि सिंडी
निर्माणको लागि पर्यटन वोर्ड बाहेक स्थानीय जनश्रमदानबाट सहयोग प्राप्त भई
भएको श्रेष्ठले बताए। भंगेरिचुली मन्दिरलाई डडेलोबाट जोगाउँदै क्षेत्रको
सम्रक्षण गर्दै बस्ने भवन बनाउन, वरिपरी बार लगाउन आवश्यक रहेको श्रेष्ठको
भनाइ छ।
भंगेरिचुली बारे किम्बदन्ती के छ ?
भंगेरिचुली
नेपाल एकीकरण हुनुभन्दा पहिले घलेराजाले शासन गरेको ठाउँ रहेको स्थानीय
कृष्ण प्रसाद श्रेष्ठ बताउँछन्। राजाहरुको सिपाहीको लागि पर्यट खेल्ने
ठाउँको रुपमा टुँडिखेल अहिलेपनि रहेको उनले बताए। घले राजाको उद्गमस्थल
भएको केहि पुराना संरचनाका इट्टाहरु पनि भेटिएको उनी बताउंछन्।
भंगेरिचुलीमा
घले राजाको बुबा, छोरी बस्ने गरेका र राजाको निधन पश्च्यात छोरी मात्र
रहेकोले छोरी एक्लै बस्न नसकेर सबै सम्पति त्यहि गाडेर काठमाडौं गएको
किम्बदन्ती रहेको श्रेष्ठले बताए। सो ठाउँमा लट्टाधारी जोगी आएर तपस्या
बसेको ठाउंमा ब्रह्मचारी आएर जोगीको शिर छेदन गरेको किम्बदन्ती रहेको
पाइएको श्रेष्ठले बताए। तरवारले शिर छेदन पश्च्यात टाउको र जीउ छुटिएकोले
भीरबाट लड्दै गरेर तल झरेको टाउको तल्लो भागमा पुगेकोले भंगेरी भैरव र जीउ
माथिल्लो भागमा अड्किएकोले भंगेरी भैरवी देवीको रुपमा भोगखानीको पुजा गर्न
शुरु गरिएको बुढापाकाको भनाइ रहेको श्रेष्ठले बताए।
विगतदेखि
हिउँदको समयमा पानी नपरेपछि खिर चढाएर पुजा गर्ने गरिएको, देवी वा भंगेरी
आएर भैरव भएर प्रसाद खाने गरेको र हर हर महादेव भन्दै पूजा गरेपछि पानी
पर्ने गरेको मन्दिरका पुजारी नरहरी न्यौपानेले बताए।
भंगेरिचुलीबाट के के देखिन्छ ?
भंगेरिचुलीबाट
डाँडाबाट गणेश हिमाल, मानाचुली हिमाललगायत हिमालहरुको दृष्यावलोकन गर्न
सकिन्छ। भंगेरिचुली डाँडाबाट पूर्वमा नुवाकोट, पश्चिममा गोरखा, उत्तर र
दक्षिणमा धादिङ्कै भूभाग पर्दछ। सोहि ठाउँबाट मध्ये पहाडी लोकमार्ग
अन्तर्गत कटुन्जे, बेत्रावती क्षेत्रमा सिधा रुपमा जोडिएका सडकको
दृश्यावलोकन गर्न सकिछ। भंगेरिचुली मन्दिरसम्म पुग्नका लागि तलबाट करिब १२
सय सिंडी निर्माण गरिएका छन् ।
यस
क्षेत्रमा घलेराजाहरुले प्रयोग गरेको ढिकी जाँतो देखेको र सो हालपनि रहेको
स्थानीय समाजसेवी कृष्ण प्रसाद रिमाल बताउँछन् । त्यस समयमा घले राजाहरुले
डाँडा बसेर शासन गर्दा त्यसबाट तल हेर्दा जनताको घरमा धुँवा आएको देखेपछि
मात्र खाना खाने गरेको कारण नै यस ठाउँको नाम धुँवाकोट राखिएको भनाइ रहेको
रिमालले बताए। पर्यटकीय हवको रुपमा विकास गरंको लागि पर्यटन व्यवसायी
राजेन्द्र सापकोटा लगायत कृष्णकुमारी घिमिरे, शिवकुमार श्रेष्ठ, नवराज
दुवाडी लगायत सबै व्यक्तिहरुको भूमिका उल्लेक्य रहेको कारण अहिलेको अवास्थ
सम्भव भएको रिमालले बताए।
जनप्रतिनिधि के भन्छन् ?
धादिंङ्
क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद खेम प्रसाद लोहनीले भंगेरिचुली
क्षेत्रलाइ समेट्दै पर्यटकीय हिसाबले समेट्ने गरि सुनौलो बजार,
खाल्टेपात्ले, काउले, धुँवाकोट, भंगेरिचुली देखि सम्जुंङ् हुँदै गणेश
हिमालसम्म पर्यटकीय पैदल मार्गको रुपमा विकास गर्ने काम शुरु भएको
बताउंछन्। लोहनी भन्छन् “पैदल मार्गका लागि विच विच खण्डमा काम भएको छ,
सबैलाई जोडेर काम गर्न बाँकि छ त्यसलाई अब पुरा गर्छौं।’’
भंगेरिचुली क्षेत्रलाई टुरिजम हव बनाउनको लागि मास्टर प्लान अनुरुप डीपीआर तयार गरिएको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले जानकारी दिए। डीपीआर तयार भएपनि निर्माणका लागि आवश्यक आर्थिक श्रोत जुटाउन नगरपालिकाले सबैसंग सहकार्य गरिरहेको ढुंगानाले बताए। हालसम्म नगरपालिकामा २ र ९ नम्बर वडामा भ्यु टावर निर्माण गरिसकेको ढुंगानाले बताए।स्रोतःसाझासवालबाट