सहिदको रगतले लेखिएको स्थानीय तहको अधिकार खोस्ने दुस्साहस नगरः डा. भट्टराई
फाल्गुन ५ गते, २०७५ - ०४ः२९ मा प्रकाशित
४ फागुन, पर्वत ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ शक्तिलाई स्थानीय तहको अधिकार नखोस्न चेतावनी दिएका छन् ।जनसंवाद यात्राको क्रममा पर्वतको कुष्मा बजारमा आयोजित अन्तर्क्रियामा बोल्दै डा. भट्टराईले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘स्थानीय तहलाई दिइएको २२ वटा अधिकार सहिदको रगतले लेखिएको अधिकार हो, कसैले खोस्ने दुस्साह नगरुन् ।’
वर्तमान सरकारले संघीयताको कार्यान्वनमा आनाकानी गरिरहेको स्थानीय जनप्रतिनिधिले गुनासो गरिरहेको स्मरण गर्दै उनले आन्दोलनका उपलब्धिबाट पछाडि नहट्न चेतावनी दिए । ‘प्रधानमन्त्री वा कुनै अमूक व्यक्तिले अड्कलेर अधिकार दिने व्यवस्था संघीयता होइन,’ उनले भने, ‘यसलाई पञ्चायतकालको विकेन्द्रीकरणजस्तै राजामहाराजा वा शासकको निगाहमा दिइने अधिकारमा खुम्च्याउने दुस्साहस कसैले नगरुन् ।’
समृद्धिको प्रमुख आधार सडक भएकोले पहाडी क्षेत्रको विकासको लागि आफूले मध्यपहाडी लोकमार्ग सुरु गरेको उनले स्मरण गरे । ‘चीनले बिआरआईमा अतिरिक्त पुँजी लगानी गरिरहेको छ, हामी जहाँ गए पनि समृद्धिको पहिलो पूर्वाधारको रुपमा सडकलाई लिएको पाइन्छ,’ उनले भने, ‘सडकले आवतजावत र संसर्ग बढाउँछ । यसले आर्थिक गतिविधिमा पनि तीव्रता ल्याउँछ ।’
आफू प्रधानमन्त्री हुँदा २ वर्षसम्म बजेट ल्याउन नदिए पनि रकम स्थानान्तरण गरेर राष्ट्रिय गौरवको योजना पनि सुरु गरेको उनले जानकारी दिए ।फ्रान्सेली राज्यक्रान्ति हुँदा नेपालमा बहादुर शाहले बाइसे चौबिसे राज्य एकीकरणको काम गरिरहेको उदाहरण दिँदै नेपालमा जनयुद्ध अनावश्यक होइन, बरु ढिलोगरी भएको धारणा उनले राखे ।
मुलुकमा समृद्धिको लहरभन्दा प्रकरण र काण्डको लहर आइरहेको उल्लेख गर्दै उनले भने, ‘यसले देशलाई बरबादीतिर धकेलिरहेको छ । असल राजनीतिबिना सुशासन हुँदैन । सुशासनबिना विकास र समृद्धि सम्भव हुँदैन ।’ कमिशन, सूद्खोर, जमिनको विचौलिया फष्टाउँदा प्रगतिशील पुँजीवाद पछाडि परेको उनको बुझाई थियो ।
जनसंवाद यात्रामा राजनीतिमा भइरहेको भ्रष्टीकरणबारे अध्ययन गर्ने र त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे धारणा निर्माण गर्ने नयाँ शक्तिले जनाएको छ ।