आश्विन २४ गते, २०८१ - १२ः३७
Follow us:

बुढीगण्डकी परियोजनाको क्षमता १२ सय मेगावाटनै हो ः प्रचण्ड

 

४ फागुन धादिङ ।
नेकपाका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले बुढीगण्डकी जलाशय युक्त परियोजनाको क्षमता १२ सय मेगावाटनै हुने बताउनु भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित कार्की गाउँ माध्यमिक विद्यालयको ५९ औँ बार्षिक उत्सव तथा नव निर्मित ८ कोठे पक्की भवनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले यसको क्षमतामा कुनै परिवर्तन नुहुने स्पष्ट पार्नुभएको छ । बुढीगण्डकी जलाशय युक्त परियोजना दुई वटा जिल्लाको विषय मात्र नभएको भन्दै उहाँले यो सिंगो राष्ट्रको गौरवको विषय भएको बताउनु भएको छ ।
प्रमुख अतिथी समेत रहनुभएका प्रचण्डले डुबान क्षेत्र भित्र रहेको आरुघाट बजार र खहरे बजार क्षेत्र भित्र पर्ने जग्गाको पनि मुआब्जा वितरण गर्ने तयारी भईरहेको बताउनु भएको छ । त्यस क्षेत्रका ऐतिहासिक महत्व,बजार क्षेत्र र नागरिकहरुको भावनालाई बुझेर उचित मुआब्जा वितरण गरिने समेत स्पष्ट पार्नुभयो । यसैगरी धादिङको सल्यानटारमा शहरीकरण गर्नको लागी विस्तृत परियोजना तयार पार्नको लागी ३ करोड रकम बिनियोजन भईसकेको बताउनु भएको छ । खानेपानी मन्त्रालयले सल्यानटारमा काम गर्ने भन्दै उहाँले त्यस क्षेत्रलाई नमुनाको रुपमा विकास गर्ने समेत दावी गर्नुभएको छ ।

मध्यपहाडी लोकमार्गको काम यसबर्षबाट सुरु हुने भन्दै प्रचण्डले धादिङका जनताहरुलाई बधाई दिनुभएको छ । सदरमुकाम धादिङबेसी आउने एक मात्र सडक कालोपत्रे भएको भन्दै उहाँले अब केहि बर्षभित्रै अन्य विभिन्न क्षेत्रका सडकहरु पनि कालोपत्रे हुने बताउनु भएको छ। धादिङ–तिप्लिङ र रसुवा सम्मको सडक खण्ड र सल्यानटार बेलन फुलखर्क जोड्ने कार्यलाई महत्वको साथ अगाडी बढाईने बताउनु भएको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाइको १ करोड २ लाख रुपैयामा निर्माण भएको भवनको शनिवार प्रचण्डले उद्घाटन गर्नुभएको हो । विद्यालयमा प्राविधिक भेटेनरी कक्षा सन्चालनको लागी रु १ करोडको अक्षय कोष स्थापना गरीएको छ ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खिल बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनी,पुर्व सभाषद गुरु बुर्लाकोटी,पुष्प विक्रम मल्ल,प्रदेश सांसद जगत सिंखडा,नेकपा नेता बिजय बुर्लाकोटी,रामबहादुर भण्डारी लगायत गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको आतिथ्य रहेको थियो । विद्यालयलाई आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई विद्यालयले सम्मान गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्: