पुननिर्माण तथा प्रबलीकरण सम्बन्धी कार्यशाला गोष्ठि धादिङमा सम्पन्न
माघ २६ गते, २०७५ - ००ः१९ मा प्रकाशित
२५ माघ, धादिङ ।
धादिङबेसीमा शुक्रबार पुननिर्माण तथा प्रबलीकरण सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रबलीकरण सम्बन्धी जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बलियो घर कार्यक्रमका जिल्ला संयोजक तथा ईञ्जिनियर हरिराम पाठकले जानकारी दिनुभयो ।
सामान्य ढुङगा र माटोबाट निर्माण भएको घरहरुपनि प्रबलीकरण गरे पश्चात बलियो हुने कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका उप कार्यकारी निर्देशक डा.रमेश गुरगाईले भत्किएको घरलाई मर्मत गर्ने नभएको भन्दै घरलाई झन् बलियो बनाउने काम भएको बताउनुभयो ।
नागरिकहरुमा प्रबलीकरण गरेपश्चात झन् बलियो हुने भन्ने ज्ञानको अभाव रहेको बताउनुभएको छ । लामो अनुसन्धान पश्चात प्रबलीकरण मार्फत पनि घरलाई बलियो बनाउन सकिने भन्ने तथ्य पत्ता लागेको भन्दै यस कार्यको विश्वास गर्नको लागि समेत आग्रह गर्नुभयो ।
ढुङगा माटाबाट निर्माण भएका पुराना घरहरुलाई पनि प्रवलीकरण गरेर नयाँ भन्दा बढी सुरक्षित बनाउन सकिने भन्दै उहाँले प्राविधिकहरुको सल्लाह अनुसार प्रवलीकरण गर्न समेत आग्रह गर्नुभयो । गाउँघरमा निर्माण भएका मौलिक घरहरुलाई न्युन खर्चमा प्रवलिकरण गरेर भुकम्प प्रतिरोधात्मक बनाउन सकिने भन्दै उहाँले यो अभियानमा सामेल हुनुको लागी लाभाग्राहीलाई समेत आग्रह गर्नुभयो । धादिङमा लाभाग्राही सुचीमा परेका कुल ८१ हजार ९ सय ३८ मध्ये ७३ हजार ७ सय ६० ले अनुदान सम्झौता गरिसकेका छन् ।
जसमा ७० हजार ८ सय ४५ जनाले प्रथम किस्ता प्राप्त गरेका छन् । यसैगरी ६१ हजार २ सय ८२ जनाले दोस्रो किस्ता पाएका छन् भने ४५ हजार ८ सय ९९ सय जना तेस्रो किस्ताको लागि सिफारीस भएका छन ।