हङकङ, २ पुस । चीनको स्वशासित क्षेत्र हङकङमा सम्पन्न मुई थाई च्याम्पियनसिपमा नेपाली खेलाडी शङ्कर धमलाले स्वर्ण पदक उचालेका छन् ।
धमलाले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्णपदक उचालेका हुन् । उनी आफ्ना प्रतिद्वन्द्वी ६७ किलो समूहमा हंगकंगका लिन का किटलाई तीन नै सेटमा परास्त गर्न सफल भएका हुन् ।
वैदेशिक रोजगारीको शिलशिलामा मकाउमा कार्यरत धमलाको स्थायी घर धादिङ हो । जीवन निर्वाहको लागि दैनिक काममा खटिइरहँदा पनि खेलप्रतिको लगाव र साधनाका कारण उनी स्वर्ण पदक उचाल्न सफल भएका हुन् ।
परदेशी भूमिमा स्थानीय प्रतियोगीलाई पराजित गर्दै पदक उचालेर नेपाली झण्डा फहराउन पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताउँछन् धमला ।
धमला विजयी हुँदा उनी कार्यरत कम्पनीका भाईस प्रेसिडेन्ट,डाइरेक्टर,म्यानेजर,सहकर्मी सुपरभाईजरहरू,सेक्युरिटी अफिसरहरूदेखि लिएर स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सम्झन पुगेको उनले बताएका छन् ।