५ असोज,धादिङ ।
अर्थमन्त्री डा युवराज खतिवडाले करदातामैत्री कर प्रशासन बनाइने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।आन्तरिक राजस्व कार्यालय दमौलीको बिहीबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संस्थागत व्यवस्था, प्रविधिको प्रयोग र कर्मचारीको व्यवहारलाई सुधार गरेर करदातामैत्री प्रशासन बनाउने सरकारको लक्ष्य छ ।”
अर्थमन्त्री डा खतिवडाले यसका लागि कर्मचारीले सदाचार पद्धतिलाई व्यवहारमा उतार्नुपर्ने बताउँदै हामी सदाचारको कुरा मात्रै गर्ने होइन, पालना गरेर देखाउने प्रतिबद्धताका साथ सरकारमा छौँ भन्नुभयो ।
आफू स्वच्छ कर प्रशासक बन्न चाहेको उल्लेख गर्दै उहाँले कर प्रशासनमा कहीँकतै कमजोरी देखिए त्यसलाई सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डा खतिवडाले मुलुकको समृद्धिका लागि करदाताले इमान्दारीपूर्वक कर तिर्नुपर्छ भन्दै सङ्घीयता खर्चिलो प्रणाली भएकाले त्यसलाई व्यवस्थित गर्न पनि कर उठाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।