संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको बिहीबार बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उहाँको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको थियो । उहाँले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्ने प्रणालीको विकास गरिएको र पछिल्लो दिनमा स्थानीय निकायको बढी उजुरी आएको जानकारी दिनुभयो